परित्यक्त गाँजाले किन पाउँदैछ संसारभर वैधानिकता ?

0
72
परित्यक्त गाँजाले किन पाउँदैछ संसारभर वैधानिकता ?

कुनै पनि देशको नवनिर्वाचित प्रधानमन्त्रीबाट अपेक्षा गरिने पहिलो कार्यक्रम वा योजना के होला?

सार्वजनिक सरोकारका विषयमा कुनै सुधारात्मक कार्य, स्वास्थ्य सेवामा सहुलियत, बैंक व्याजदर कटौती वा यस्ता–यस्तै।

चार दिनअघि मात्र प्रधानमन्त्री पद सम्हालेकी न्यूजिल्यान्डकी ज्यासिन्डा आर्डन भने गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिन चाहन्छिन्। आर्डनले गत शुक्रबार ‘गाँजा प्रयोगमा लगाइँदै आएको प्रतिबन्ध खुला गर्न’ संसदमा छलफल थाल्ने र सुझाव लिने बताएकी छन्।

आर्डनका हकमा यो नौलो वा आश्चर्यजनक घोषणा भने होइन।

सन् २०२० देखि गाँजाको व्यक्तिगत प्रयोगलाई कानुनी मान्यता दिने उनको चुनावी एजेन्डा नै थियो। ‘चुनावी प्रचारकै क्रममा मैले गाँजाको व्यक्तिगत प्रयोगमा प्रतिबन्ध लगाउनु हुँदैन भनेर भनेकी थिएँ,’ ३७ वर्षीय प्रधानमन्त्री आर्डनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिनएनबिसीले लेखेको छ, ‘यसो भन्दैमा गाँजाले युवाहरूमा पार्ने नकारात्मक असरलाई मैले बेवास्ता गरेको होइन।’

व्यक्तिगत प्रयोजनका निम्ति गाँजा खुला गर्दा उमेर हद तोक्ने उनको योजना छ।

न्यूजिल्यान्डकी नयाँ प्रधानमन्त्री गाँजा सेवनमा यति उदार हुनुको कारण उनको व्यक्तिगत लहड होइन। गाँजालाई औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ। यही आधारमा धेरै देश तथा सहरमा गाँजाको व्यक्तिगत प्रयोग वैधानिक भइसकेको छ।

उरुग्वे पहिलो देश हो, जसले व्यक्तिगत प्रयोजनमा गाँजा सेवनलाई कानुनी मान्यता दियो।

पछिल्लो समय नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले उरुग्वेलाई पछ्याएका छन्। चिली, जमाइका लगायत अन्य केहीले गाँजा खेतीलाई मात्र भए पनि वैधानिकता दिएका छन्। अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, जर्मनी, इजरायलजस्ता देशमा भने यसलाई औषधिका रूपमा प्रयोग गर्न छुट छ। पेरुले पनि गत साता औषधिका रूपमा गाँजा प्रयोगलाई कानुनी मान्यता दिइसक्यो।

कुनै समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाको स्वीकार्यता र वैधानिकता बढ्दै गएको छ। गाँजाबारे कट्टर अवधारणा लिँदै यसको सेवन रोक्न कडा कानुन बनाएका केही अमेरिकी तथा युरोपेली सहरमा पनि अचेल कफीसपमै विभिन्न ब्रान्डका गाँजा बेचिन थालेका छन्।

गाँजाले मान्छेको स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन्। कतिपय रोगमा गाँजाले औषधिको काम गर्ने ती अनुसन्धानको निष्कर्ष छ। खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता स्वास्थ्य समस्याको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ।

शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ। यति मात्र होइन, शल्यक्रिया गर्दा औषधिले बेहोस पार्न नसकिने बिरामीलाई गाँजाले लठ्याउन सकिने अनुसन्धानको निष्कर्ष छ।

यसो भन्दैमा मान्छेको स्वास्थ्यलाई गाँजा पूरै ‘फाइदाजनक’ छ भन्ने होइन। यसले हृदयगति बढाउने, धुवाँले श्वासप्रश्वास प्रणालीमा असर गर्ने तथा सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्ने पनि देखिएको छ।

यसको मतलब, मान्छेको स्वास्थ्यमा गाँजाले त्यतिबेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ। थुप्रै शोध र प्रयोगबाट अनुसन्धानकर्ताले निकालेको निष्कर्ष यही हो।

यही क्रममा केही दिनअघि मात्र गाँजा र यौनसम्पर्कबारे एक अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छ। ‘जर्नल अफ सेक्सुअल मेडिसिन’ ले गत शुक्रबार सार्वजनिक गरेको उक्त रिपोर्टले भन्छ, ‘गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुन्छ।’

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता डा. माइकल आइजनवर्ग र डा. एन्ड्रियू सनले उक्त रिपोर्ट तयार पारेका हुन्। उनीहरूले सन् २००२ देखि २०१५ सम्म गाँजा सेवन गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका ५० हजार जनाको अनुसन्धान गरेका थिए। शोधमा सहभागीलाई एक वर्षमा कतिपटक गाँजा सेवन गरेको र त्यसको चार सातासम्म कतिपटक यौनसम्पर्क राखेको भन्ने प्रश्न सोधिएको थियो।

सहभागीहरूले सामान्य अवस्थामा भन्दा गाँजा सेवनपछि धेरैपटक यौनसम्पर्क गरेको बताएका थिए। ‘हाम्रो यो अनुसन्धानले गाँजा सेवन गर्नेहरूमा यौनसम्पर्कको क्षमता नगर्नेको भन्दा बढी हुन्छ भन्ने पुष्टि गरेको छ,’ डा. आइजनवर्गले भनेका छन्, ‘यौनसम्पर्कको ‘फ्रिक्वेन्सी’ बढे पनि गाँजा सेवनले यौन उत्तेजना नै बढाउँछ भनेर हामी दाबी गर्दैनौं।’

गाँजाको नसाले यौनसम्पर्कमा अग्रसर गराएको पनि हुनसक्ने उनको भनाइ छ।

आइजनवर्गले किटान नगरेका भए पनि गाँजा धेरै अघिदेखि विभिन्न रोग उपचारका साथै यौन उत्तेजना बढाउन प्रयोग हुँदै आएको छ।

यसको इतिहास नेपालमै पनि छ।

नेपालमा अमेरिकी दबावले गाँजामा प्रतिबन्ध लगाइएको हो। त्यहीबेला २०४१ सालमा राजा वीरेन्द्र मध्यपश्चिमाञ्चल भ्रमणमा गएका थिए। उनलाई रोल्पाका स्थानीयले गाँजा खेतीमाथि लागेको सरकारी प्रतिबन्ध हटाउन माग गरेका थिए। तत्कालीन प्रशासक तथा राप्ती एकीकृत विकास परियोजना प्रमुख खेमराज नेपालले ‘गाँजाबाट औषधि उत्पादन गर्न सके राम्रो हुने’ सोचेर काठमाडौंस्थित औषधि व्यवस्था विभाग र वैद्यखानालाई पत्राचारै गरेका थिए।

गाँजाको नाम सुन्नेबित्तिकै औषधि व्यवस्था विभाग तर्सियो। वैद्यखानाले भने गाँजाबाट ‘भोग सुन्दरी’ नामको औषधि बनाएर बेच्न सकिने जवाफ दियो। भोग सुन्दरी भनेको भायग्राजस्तै यौन उत्तेजक आयुर्वेदिक औषधि थियो।

नेपालमा गाँजा उत्पादन र बिक्रीवितरणको इतिहास लामो छ। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो। सन् १९७० दशकदेखि नेपालमा गाँजा प्रतिबन्धित भयो।

उतिबेला बूढापाकाले अनिन्द्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो।

नेपालमा हिन्दु धर्मको प्रभावले पनि गाँजा चलनमा आएको पाइएको छ।

नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ। हिन्दु धर्मका भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरणका निम्ति आफ्नो शरीरबाट गाँजा उत्पादन गरेको धर्मशास्त्रमा उल्लेख छ। अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको हो।

गाँजा उत्पत्तिका विभिन्न व्याख्या भए पनि यसलाई हिन्दुहरूले शिवको प्रसादका रूपमा सेवन गर्ने चलन छ। धर्मशास्त्रले गाँजा पाप पखाल्न र शिव भगवानसँग निकट हुन सेवन गरिने भनेको छ। सँगसँगै, विशेष चाडपर्वबाहेक जहिले पायो, त्यैले सेवन गर्नु पाप हो भनेर व्याख्या गरेको छ।

नेपालमा गाँजा प्रतिबन्धित भए पनि अचारका निम्ति दाना बेचबिखनमा बन्देज छैन।

पूर्वी रूकमको एक गाउँमा गाजाँको चोपबाट चरेश बनाउँदै। तस्बिरः सेतोपाटी
गाँजालाई औषधिका रूपमा मात्र होइन, मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ। नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ।

दोस्रो विश्वयुद्धको समयदेखि नै नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’हरूको घुइँचो लाग्न थालेको थियो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे।

गाँजाको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात/निर्यातका निम्ति अनुमतिपत्रसम्बन्धी नियमावली बनायो।

गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्‍यो। संयुक्त राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड गर्न थाल्यो।

त्यसबेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तै कडा लागुऔषधको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्यो। एसियाली र पश्चिमी देशमा प्रतिबन्ध नभइसकेको गाँजा नेपालमा भने तुरुन्तै प्रतिबन्ध लगाउन उसले दबाब दियो।

यो प्रतिबन्धका पछाडि अमेरिकाको हात रहेको जानकार बताउँछन्। उनीहरूका अनुसार अमेरिकीहरू स्वतन्त्र रूपले लागुऔषध सेवन गर्न भनेरै नेपाल बस्न थालेपछि अमेरिका आफ्ना नागरिकप्रति चिन्तित थियो।

त्यतिबेला नेपालका अधिकांश क्षेत्रको रोजीरोटी बनेको गाँजा खेती र बिक्री–वितरण प्रतिबन्ध लगाउने अमेरिकाले अहिले आएर आफ्ना केही सहरमा यसको प्रयोग खुला गरिसकेको छ। वैज्ञानिकहरूले गाँजाको औषधीय गुण पुष्टि गरेसँगै अमेरिकाले यसप्रति लचकता देखाउँदै आएको छ। कतिपय देशले त गाँजा प्रतिबन्धकै कारण अन्य लागुपदार्थ बढी प्रयोग भएको विश्लेषण गरेका छन्।

यस्ता वैज्ञानिक अनुसन्धान र विश्लेषणबाट गाँजाका गुण सार्वजनिक हुन थालेपछि नै अमेरिकासहितका पश्चिमी देशमा यसको स्वीकार्यता बढेको हो। गाँजा र मान्छेको यौन जीवनलाई जोडेर सार्वजनिक पछिल्लो अनुसन्धानले यसको स्वीकार्यता र वैधानिक अझ बढ्ने अपेक्षा गरिएको छ।

यही पंक्तिमा जोडिन आइपुगेको छ, न्यूजिल्यान्ड।
त्यहाँकी नवनिर्वाचत प्रधानमन्त्री ज्यासिन्डा आर्डनको गाँजा खुला गर्ने कार्यक्रम संसदले अनुमोदन गरेको खण्डमा न्यूजिल्यान्ड गाँजालाई वैधानिकता दिने पछिल्लो देश हुनेछ। सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here