‘झुम्म बनाउने औषधि चाहियो भनेर हैरान बनाउँछन्’

0
60
बबिता भट्टराई

स्याङ्जा घर भएकी बबिता भट्टराईले अभिभावकको सल्लाहमा नै फार्मेसी पढिन्। मेडिकल क्षेत्रितिरको लगाव देखेर परिवारले हौसला दिएपछि उनले फार्मेसीमा डिप्लोमा समेत गरिसकिन्। औषधि बिक्री गर्न थालेको एक वर्ष मात्रै भएको छ। उनी मीनभवनस्थित मेडिकल स्टोरमा काम गर्छिन्।

उनले सुरुमा अल्का अस्पतालमा एक महिना स्वयंसेवी भएर काम गरिन्। त्यसपछि गोसाइँकुण्ड हेल्थ सेन्टरमा ६ महिना बसेपछि मीनभवनको सिया फार्मेसीमा आइपुगेकी हुन्।
फार्मेसीमा काम गर्दा उनलाई असाध्यै खुसी लाग्छ। भन्छिन्, ‘आफ्नो रुचिको विषय भएकाले त्यसैलाई व्यवहारमा उतार्न पाउँदा को खुसी नहोला र?’

अन्य पसलमा जस्तै औषधिमा पनि ग्राहकहरुले डिस्काउन्ट खोज्ने गरेको उनको अनुभव छ। बूढाबूढीलाई १० प्रतिशत र अरुलाई ७ प्रतिशत ‘छुट नियम’ उनको फार्मेसीमा छ।
डाक्टरको प्रिस्किप्सनबिना पनि औषधि किन्न थुप्रै ग्राहक आउने गरेको उनी बताउँछिन्। तर दिन मिल्ने औषधि मात्रै उनले दिन्छिन्। ‘कतिपय अवस्थामा उनीहरुले प्रयोग गर्ने गरेको औषधिको खोल हेरेर दिने गरिन्छ नत्र पहिले डाक्टरको सिफारिस लिएर आउने भनेर पठाउने गरेका छौं,’ उनी भन्छिन्।

धेरै बिरामी ‘मलाई यहाँनेर दुखेको छ, ठिक पार्ने औषधि चाहियो’ भन्दै फार्मेसी आउने गरेका छन्। एलर्जी भएको भन्दै औषधि लिन आउनेको संख्या पनि अरु भन्दा धेरै हुने उनी बताउँछिन्।

उनको फार्मेसी राति १० बजेसम्म खुला रहन्छ। कतिपय अवस्थामा युवाहरु उनलाई झुम्म बनाउने, नशा लाग्ने औषधि चाहियो भनेर हैरान पार्दा रहेछन्। तर, दिन नमिल्ने भएकाले उनी ‘छैन’ भनेर पन्छिने गर्छिन्। ‘कहिलकाहीँ त आफैं जबरजस्ती भित्र पसेर उक्त औषधि निकाल्न खौज्छन्। मान्छे बोलाएर निकाल्नुपर्छ,’ आफ्नो समस्या सुनाइन्।
प्रिस्किप्सनबिना नै आइपिल लिन आउनेहरु धेरै हुने गरेको उनको अनुभव छ। ‘कलेज पढ्ने धेरै टिनएजरहरु समेत आइपिल माग्न आउँछन्,’ उनले भनिन्, ‘रेगुलर जस्तै लिन आइरहेको छ भन्ने थाहा पाएपछि दोधार हुन्छ- दिनु कि नदिनु।’

यसलाई परिवार नियोजनका अन्य साधन जस्तो प्रयोग गर्न नहुने भनेर उनी सम्झाउँछिन् पनि। ‘यसलाई मेडिकलबाट बेच्न रोक लगाए हुन्थ्यो जस्तो लाग्छ। किनभने यसका थुप्रै साइड इफेक्ट पनि छन्,’ उनले भनिन्।

उनलाई चित्त नबुझेको अर्को कुरा पनि छ। प्राय: अभिभावकले स–साना बच्चाहरुलाई औषधि किन्न पठाउने गर्छन्। औषधि जस्तो संवदनशील कुरामा सकभर ठूलो मानिस आउनुपर्ने उनी सुझाउँछिन्।

‘अहिले प्राय: सबै पढेलेखेका नै छौं तर कतिपयलाई औषधिको मिति वास्ता नै हुँदैन,’ उनको अर्को सुझाव छ, ‘बेच्नेहरुले पनि मिति सकिए/नसकिएको यकिन गरेर मात्र ग्राहकलाई दिनुपर्छ।’
औषधिमा साइड इफेक्ट हुन्छन् नै। त्यसैले औषधि किन्नु र खानुअघि डाक्टरको सल्लाह अनिवार्य लिनुपर्ने बताउँछिन् उनी।

फार्मेसीमा सम्बन्धित विषय पढेको मान्छे अनिवार्य गर्न सरकारसँग उनको आग्रह छ। औषधि चिनेको भरमा फार्मेसी खोल्ने धेरै भएको भन्दै यसलाई निरुत्साहित गर्न उनको माग छ। कतिपयले त अरुको लाइसेन्स भाडामा लिएर फार्मेसी चलाइरहेको उनले भेटेकी छिन्। औषधि जस्तो संवेदनशील कुरामा यस्तो हेलचेक्र्याइँ नगर्न उनले आग्रह गरिन्।
हाल कोटेश्वरमा बस्दै आएकी उनको योजना बी फार्मेसी पढ्ने र धेरै अनुभव हासिल गर्ने छ। त्यसपछि मात्रै आफ्नै फार्मेसी खोल्ने योजना सुनाइन्। भन्छिन्, ‘धेरै कुरा काम गर्दा जाँदा थाहा हुन्छ। अहिले म कामसँगै नयाँ कुरा सिकिरहेकी छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here