अमेरिका होइन, युएई आउनुस्

0
62
अमेरिका होइन, युएई आउनुस्

असार २८, २०७४-तपाईं अमेरिका जान सक्नु भएन ? तपाईं युरोप जान सक्नु भएन ? जापान जान सक्नु भएन ? दलालले पैसा खायो ? हातमा सीप, क्षमता र योग्यता छ ? अमेरिका र युरोप जान किन मरिहत्ते गर्नु हुन्छ ? तपाईं अमेरिका गएर महिनाको एक दुई हजार डलर मात्रै कमाउने हैन ? अब त्यता हैन यता आउनुस् ।

अमेरिका निवासी नवीन रायमाझीले गत असार ११ गते कान्तिपुरमा एउटा ब्लग लेखे, ‘अमेरिका: सबै आउनुस् तर दलालको पछि लागेर नआउनुस् ।’ यो ब्लग पढे पछि केही कुराहरु लेख्न जरुरी ठानें । धेरै जसो लेखमा प्राय: दलालको कुरा सुनेर अमेरिका नआउन अनुरोध गरिएको हुन्छ ।

अमेरिका एक खालका नेपालीका सपनाको देश हो । विश्वभरीका आप्रवासन हुने मान्छेले कल्पना गरेको स्वर्गको देश हो । अरु बेला खानदानकी छोरी वा छोरासँग माया प्रिती नै बसे पनि बिहे गर्न डराउनु पर्नेमा अमेरिका जाने भए पछि छानी छानी घरानाकी छोरी झ्याइँ झ्याइँ विवाह गर्न पाइने देश हो । अरुबेला एक दुई लाख पनि नपत्याउने साहुहरुले अमेरिकाको भिसा लागेपछि लाखौं रुपैयाँ झ्याप्प पत्याउने देश हो । त्यसैले पनि अमेरिकाको नाम लियो कि सबैलाई कता कता बाट फाइफुर्ती बढिहाल्ने । अमेरिका गए पछि वा जाने भए पछि अरुलाई मान्छे नगन्ने र आफू भने मंगल ग्रहतिरबाट झरेकै जस्तो गर्ने अनुभूति गर्न सिकाउने देश हो । अन्य जुनसुकै देशमा जाउन न अमेरिकाको पासपोर्ट बाहक भएपछि अध्यागमनका कर्मचारीको व्यवहार पनि बेग्लै हुन्छ रे । अनी दलाललाई ५० लाख खर्च गरेर यस्तो देशमा जान को तयार नहुँदो हो त ?

अमेरिका गइसकेकाले नेपालमा रहनेलाई नआइज भन्ने, नेपालमा हुनेलाई जाउँ जाउँ लाग्ने रोजाइका पहिलो देश हो अमेरिका । ताल परे सर्बसाधरणले पनि झुटो डकुमेन्ट पेश गरेर भिसा प्राप्त गरी लुकेर बस्न पाउने देश, ताल नपरे सत्य तथ्य डकुमेन्ट पेश गरे पनि नेता र ब्यापारीले घुम्न जान नपाउने देश हो । यो देशमा मान्छेहरु मरिहत्ते गरेर किन जान मन पराउँछन् ? आफ्नो स्वाभिमान र इज्जतलाई धुलिसात गर्ने गरी अमेरिकामा नेपालका उच्च स्तरका सरकारी कर्मचारी, प्रहरी सेनाका हाकिम, नेताहरु किन लुकेर बस्न मन पराउँछन् त ? अमेरिकाको भिसा लागे पछि नेपालमा सबैका दिन फिर्छन । अमेरिकाको भिसा लागेर अमेरिका जाने भए देखी नै सानो जात, ठुलो जात, धर्म, वर्ण, कालो, गोरो, होचो, अग्लो, धनी, गरीब सब समान हुन थाल्छन् नेपालमा । आखिर किन ? यस्ता प्रश्नका उत्तर बिरलै पाइन्छन् ।

मेरा एक जना नजिकका मित्र हुनुहुन्छ । उनी युएई बसेर आफ्नै ब्यापार गर्छन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, लगायत विश्वका धेरै देशको भ्रमण गरिसकेका छन् । मैले उनलाई सोधे, ‘अमेरिकामा तपाईंले के पाउनु भो त्यस्तो जुन नेपालमा छैन् ?’‘नेपालमा के छ र धेरै थोक छैन, अझ भनौ केही पनि छैन,’ उनको जवाफ थियो । उनका अनुसार नेपालको आर्थिक बिकाससँग मात्र जोडिएको थिएन बरु समग्र मानब सभ्यता र मानव अधिकारसँग जोडिएको थियो ।

उनले एकदिनको एउटा सामान्य घटना सुनाए । अमेरिकी मित्रहरुसँग मिटिङको तयारी हुँदै थियो । दिउँसोको १ बजेको हुँदो हो । परिवारसहित गएका उनी आफ्नी ३ वर्षीया छोरी सँगै मिटिङमा बसेका थिए । बैठक सुरु हुन केही ढिलाई हुँदा आफ्नी ३ वर्षीय छोरी चिच्याइन्, ‘लेट्स स्टप, क्यान्सिल आवर मिटिङ’ । छोरीलाई चुप लगाउन नपाउँदै ती अमेरिकी मित्रहरु जुरुक्क उठे र भने,‘लेट्स पोस्टपोन्ड आवर मीटिङ फर टुमरो ।’ त्यस दिनको बैठक स्थगित भयो । ३ वर्षीया छोरीको कुरालाई उनीहरुले माने र अर्को दिनको लागि बैठक तय गरियो ।

तपाईंलाई अमेरिकामा लागेको खास कुरा चाँही के छ ? मानब अधिकार र विभेदरहीत समाज । म धेरै दिन अमेरिका घुमेको छु तर कसैले तँ कुन देशबाट आइस् भनेर सोध्दैन, उनले भने । जात धर्म त परैको कुरा हो भौगोलिक आधारमा पनि विभेद छैन । एसियादेखि अफ्रिका र अन्टार्टिका देखि अस्ट्रेलिया सम्मका मान्छेहरु अँटेका छन् । रैतीदेखि राजा सम्म र धनी देखि गरिबसम्म अट्न सक्ने देश अमेरिका नै हो ।

हामी नेपालमा कम्युनिजमको नारा लगाउछौं । पुँजिवाद र कम्युनिजमको आधारभूत बिशेषताहरु हेर्न अमेरिका जानु पर्छ । राज्यले नागरिकलाई शिक्षा र स्वास्थ्यमा बिभेद गर्दैन । आफ्ना नागरिकलाई रोजगारीको ग्यारेन्टी गरिदिन्छ । राज्यले सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिएको छ । सामाजिक सुरक्षा भन्नाले आफ्नो र आफ्ना छोराछोरीका बसोबास, शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिन्छ । बुढेसकालको भत्तामा कसैले राजनैतिक नारा लगाउन जरुरी छैन । त्यसैगरी नागरिकहरु पनि राज्यलाई कर तिर्छन् । राज्यप्रतिको उत्तरदायित्व जनताले उसै गरी निभाएका छन् । पूँजीवादको नाममा सरकारका कलकारखानाहरु कौडीका भाउमा बेचेर खाने नेताले राज्यले के कस्तो ब्यापार गर्न हुन्छ के कस्तो गर्न हुन्न भनेर हेर्न अमेरिका गए हुन्छ । मुलभूत रुपमा यिनै कारणहरुले गर्दा अमेरिका जान जो पनि मरिहत्ते गर्छन् । त्यसो त यूरोपमा पनि यी कुराहरुको उपलब्धता छ तर विश्वभर छाएको अमेरिकाको बैभव, विकास, एकछत्र हैकम आदि कारणले पनि धेरै जसोले अमेरिकाको सपना देख्ने गरेका छन ।

एकपटक अमेरिका गए पछि धेरै नेपालीहरु उतै भासिन्छन् । अमेरिकामा स्थापित हुन खोज्ने कारणले गर्दा धेरै बर्षसम्म उनीहरु ग्रीन कार्ड र पासपोर्टको खोजीमा भौंतारिन्छन् । त्यसपछि सस्तो ब्याजदरको ऋणमा २० बर्षसम्मको किस्ताबन्दीमा फ्ल्याट खरिद गर्ने, टेलिफोन, बिजुली र क्रेडिट कार्डको नियमित किस्ताबन्दी र हवाई जहाजको महँगो टिकटले गर्दा नेपाल आउने मौका उसले बिरलै पाउँछ । नेपाल आउनको लागि उसले महिनाबारी तिर्ने उक्त शीर्षकका खर्चहरुको जोहो पहिले नै गरेर हिंड्नु पर्ने हुन्छ ।

तिरेन भने कालो सूचीमा परिने र राज्यबाट लिने कुनै पनि सुविधाबाट बञ्चित हुनु पर्ने हुन्छ । ज्यान एक्लो भए त ठिकै छ परिवारसहित भए नेपाल भ्रमण अझै धेरै महुगो पर्न जान्छ । त्यसैले छोरो अमेरिका भासिए पछि नेपालमा बाबुआमाले दु:ख पाउँछन भन्नेहरु आजकल धेरै भेटिन्छन् ।

मेरा एक जना आफन्त अमेरिकामा हुनुहुन्छ । अमेरिका गएको १० बर्ष भन्दा बढी भयो । सुरुको ५ बर्ष उनले पढाई सकाउन खर्च गरे । अर्को ५ बर्ष सरकारी सेवा सकेर अब उनी नेपाल फर्कने तरखरमा छन् । अमेरिका गए पछिको उनको नेपाल फर्काइ यो पहिलो पटक हो । उनले यो १० बर्षमा माथि भनिए जस्तै सबैथोक गरे । आफ्नै फ्ल्याट किने (किस्ता तिरिसक्न अझै १५ बर्ष जती बाँकी छ) । अहिले हातमा अमेरिकन पासपोर्ट बोकेर उनी नेपाल फर्कदैछन । यो बीचमा म १० पटक भन्दा बढी नै नेपाल ओहोर दोहोर गरिरहेको छु ।

एक दिन उनीसँग मैले अमेरिका जाने इच्छा प्रकट गरें । उनले घुम्न जाने कि लुक्न भनेर सोधे । मैले अवसर पाए उतै लुक्ने र काम गरेर पैसा कमाउने बताएँ । उनले मेरो मासिक कमाइ, खर्च र बचत सोधे । यहाँको काम र बसाइको अवस्था सोधे । बाबुआमाको बारेमा सोधे । घरबारको बारेमा सोधे र बिदेश बसाईको अवधी सोधे । अन्तिममा उनले भने,‘बिदेश बसुन्जेल दुबई नै बस्नु । त्यस पश्चात नेपाल जानु ।’ अमेरिकाको बसाई र धपेडी देखेर उनी दिक्क भइसकेका छन् । उनलाई कसैले सुनाएछ, ‘१० बर्षको अवधिमा नेपालमा धेरै कायापलट भएको छ । नयाँ पिंढीहरुको सोच र रहनसहनमा आकाश जमिनको अन्तर भएको छ । अहिले उनलाई आफूलाई नयाँ बाताबरणमा कसरी समाहित गर्ने भन्ने चिन्ता बढेको छ ।

पैसा र कमाईको हिसाबले अब अमेरिका खासै आकर्षक मुलुक रहेन । विशेष गरी मध्यम वर्गीय परिवारको लागि कमाइ र बचतका हिसाबले खाडी मुलुकहरु अमेरिका भन्दा कम छैनन् । अमेरिकामा एक जना नेपालीको आय एक हप्तामा सालाखाला ५ सय डलर अर्थात महिनामा २ हजार डलर हो । खाडी मुलुकहरुमा २ हजार डलर खाने नेपालीहरु आजकल धेरै भेटिन्छन् । अझ खाडीमा त २ हजार डलर तलब खाएर बर्षको ३० दिन तलबी बिदा र नेपाल आउने जाने टिकट पनि पाइन्छ । कतिपय कम्पनीले बस्ने ब्यवस्था पनि गरिदिन्छन । निश्चित तलब भए पछी सस्तोमा बैंकबाट ऋणमा गाडी पाईन्छ । ब्यक्तिगत ऋण पाइन्छ । क्षमता भए सम्म आफ्ना आमाबुवा र आफन्तलाई विदेश घुमाएर पठाउन पनि सजिलो छ । जम्मा ४ घण्टा हवाईजहाजको यात्रा गरेपछि नेपाल पुगिन्छ ।

युएईमा ड्राइभरको तलब ओभर टाइम गरेर ३ हजार दिर्हाम भन्दा बढी हुन्छ । सामान्य कामदार भएर आउनेहरु अहिले अफिसका म्यानेजर बनेका छन् । इन्जिनियरहरुले १० हजार दिर्हामदेखि बीस पच्चिस दिर्हामसम्म मासिक रुपमा कमाउछन् । सामान्य एकाउन्टेन्टहरुले ५ हजारदेखि आठ, दस हजार दिर्हाम सम्म कमाएकै छन । नर्सहरुले ३ हजारदेखि ५ हजार दिर्हाम सम्म कमाउने गरेका छन । सेल्समा काम गर्ने नेपालीले दोकान र ब्राण्ड हेरी महिनाको तीन चार हजार दिर्हाम कमाउँछन् । ठूलो मसिनरी, ट्रक र लरी चलाऊनेले महिनाको ५ हजार दिर्हाम भन्दा बढी कमाउछन् । सेक्युरिटीमा काम गर्नेहरुले सालाखाला २५ सय दिर्हाम कमाउछन् । प्रहरी सेवामा काम गर्नेहरुले ४ हजार दिर्हाम कमाउँछन् । घरमा काम गर्नेहरुले १२ सय देखी २५ सय दिर्हाम सम्म कमाउने गर्दछन् । योदेखि बाहेक उनीहरुले वार्षिक वा प्रत्येक २ बर्षमा नेपाल जाने दुई तर्फी टिकट, वार्षिक ३० दिनको तलबी बिदा र खाने बस्ने सुबिधा त छँदैछन् ।

मेरा धेरै साथीहरु युरोपमा हुनुहुन्छ । उनीहरुमध्ये एक जना मन मिल्ने साथीलाई मैले के काम गर्नुहुन्छ भनेर सोधे । उनको उत्तर यस्तो थियो,‘मस्काउने, धस्काउने र चम्काउने’ । अथवा होटलमा भाडा माँझ्ने । अमेरिकामा पनि धेरै साथीहरु पेट्रोल पम्प र ग्रोसरीमा काम गर्नु हुन्छ । आखिर यतिट नै गर्न त्यति ठुलो रकम खर्च गरेर किन अमेरिका र युरोप जानु पर्‍यो ?

युएईमा तपाईं कुनै ब्यापार व्यवसाय गर्न चाहनुहुन्छ ? कयौं नेपालीले आफ्नै ब्यवसाय पनि गरेकै छन् । ठूला ठूला कम्पनी देखि ग्रोसरी र रेस्टुरेन्ट ब्यवसाय सन्चालन गरेर प्रगति उन्नती गरेकै छन । तपाईंलाई बिदेशमा राजनीति गर्न मन छ ? यहाँ कांग्रेस, एमाले, माओवादी, राप्रपा, ससफो, जनजाती सबै पार्टी छन् । समाजसेवा गर्ने हो ? एनआरएनए, नेपाली समाज, जिल्लागत संस्था गरेर १०० को हाराहारीमा संस्था छन् । बिदेश बसेर पत्रकारिता गर्ने मन हो भने त्यो पनि पाईन्छ । किन जानु हुन्छ अमेरिका ? बरु आउनुस् यतै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here