दिदी र भाई बिच घट्न पुगेको एक अप्रिय घटनाको दर्दनाक कहाँनी

0
39
दिदी र भाई बिच घट्न पुगेको एक अप्रिय घटनाको दर्दनाक कहाँनी

एक्कासि उनलाई शुक्रबार फोन आयो । तर, त्यो फोन शनिबार आउनुपर्ने थियो । उनले सेड्युल मिलाएकी थिइन्, हरेक बार कहाँ जाने भनेर । उनी तयार भएकी थिइन्, रुटिनअनुसार जानैपर्ने ठाउँका लागि । उनले मुस्कुराउँदै फोन उठाइन् हेलो !

‘हजुर, म फलानो लजबाट । आज तपाईंले सोचेभन्दा राम्रो कमाइ हुन्छ । गेस्टको चाहनामा पनि तपाईं नै हुनुहुन्छ । के छ विचार ? ’

उनलाई विशेष व्यक्तिको आगमनको कारण बोलाइएको रहेछ । उनले नाइँ भन्ने कुरै भएन । तिज पनि नजिकिँदै छ । पैसाको महत्त्व बढ्दै थियो ।उनले ‘हुन्छ’ भनिन् ।
उनी हतार-हतार सेड्युलअनुसार लजमा गइन् । आज उनलाई हतार थियो । ग्राहकभन्दा अगाडि नै आफू तयार भइन् । उनले नै आफ्नै सक्रियतामा काम भ्याइन् र शनिबार जानुपर्ने होटलतिर लागिन् ।

किनकिन, आज उनलाई अनौठो लागेको थियो । मनमा के-के कुरा खेलिरहेका थिएँ । मन निकै अशान्त थियो तर पनि सोचिन् – जानु त पर्छ नै । अनि, ट्याक्सी चढिन् ।

ट्याक्सीबाट उत्रनु केहीबेरअघि फेरि एकपटक आफ्नो अनुहार ऐनामा हेरिन् । निकै राम्री भएको आभास भयो । सरासरी गइन् र लजको म्यानेजरलाई भेटिन् ।

म्यानेजर बोले, ‘ए आउनु भयो ? ’

उनी मुसुक्क मुस्कुराउँदै भनिन्, ‘हजुर ।’

म्यानेजर- ‘एक रातको १० हजार । तर, रात पूरै बस्नुपर्छ । मन्जुर ? ’

‘ओके, नो प्रोब्लम ।’

म्यानेजर- ‘रुम नम्बर १०४ ।’

‘ओके ।’

भर्याङको सिँढी चढ्दै गर्दा मनमनै सोचिन्, एक हप्तामा कमाउने एकै रातमा पाइने भयो । उनी खुसी भइन् । एकपटक हातेझोलाबाट ऐना निकालेर हेरिन् ।

खुसी हुँदै सरासर ढोकाको लक समाइन् । सजिलै खुल्यो, भित्र पसिन् । कोठामा कोही थिएन । तर, एउटा ह्यान्डक्यारी र दुइटा सुटकेस थिए । यताउता हेरिन् । एट्याच बाथरुममा पानीको धारा खोलेको आवाज आइरहेको थियो । उनले संकेत गरिन् ।

बाथरुमको ढोकामा ऐना थियो, हेरिन् । गाजल, लिपिस्टिक पोतिएको ठाउँमा फेरि पोतिन्, भद्दा पाराले । उनको पहिचानवाला सेन्ट पनि छरिन् र सुहागरातमा दुलहीझैँ सजिएर बसिन् । एक्कासि बाथरुमको ढोका खुल्यो ।

‘हाई डार्लिङ ! पहिलो प्रेमिकालाई डेटिङमा वेट गर्दा पनि यति बोर लागेको थिएन । किन ढिला गरेकी? तिम्रो तारिफ मैले धेरैबाट सुनेको थिएँ । त्यसैले तिमीलाई नै बोलाउन भनेको थिएँ ।’

उनको पछाडिबाट आवाज आइरहेको थियो । उनी झस्किरहेकी थिइन् । यो आवाजसँग । उनलाई कतै- कतै यो आवाज सुनेजस्तो लाग्यो । डिम लाइटको छायामा गेस्ट टावेलले शरीर पुछ्दै स्यान्डो हातमा लिएर अगाडि बढ्यो । सरासर फोनको रिसिभर समायो । फोन गरेर माग गर्यो –

‘हेलो, मिल्क कफी, स्न्याक्स र दुई प्याक वाइन । हट एन्ड कोल्ड वाटर पनि ।’

उनी यो आवाजसँग झन्झन् त्रसित भइरहेकी थिइन् । किनकि त्यो आवाज उनले कतै सुनेको जस्तो थियो । उनलाई त्यस पुरुषको अनुहार हेर्न हिम्मत आइरहेको थिएन । भागौँ- भागौँ पनि लागिरहेको थियो । तर एकै रातको १० हजार सम्झिइन् । जोसुकै भए पनि बस्ने निधो गरिन् ।

वेटरले ढोका ढकढकायो- ‘सर कफी ! ’
‘राखेर जाउ’

वेटर कफी राखेर बाहिरियो ।

त्यो पुरुष बोल्यो, ‘डार्लिङ ! किन नबोलेकी ? आउ कफी लिउँ । रात हाम्रै त हो ।’

उनी बिस्तारै उठिन् । उनी उठ्दा पुरुषले पछाडिबाट आफ्नो नितम्बमा हेरेको चाल पाएकी थिइन् ।

उनी सोफामा बसिन् । झ्याप्प बत्ती गयो ।

ऊ क्यान्डल खोज्दै गर्दा भन्दै थियो, ‘जलस्रोतको धनी देश भन्छन् तर हाम्रो दशा यस्तो ।’

उसले क्यान्डल भेट्यो । फेरि लाइटर खोज्दै गर्दा भन्दै थियो, ‘बरु विदेश नै राम्रो । केही कुराको अभाव त छैन । यस्तो अँध्यारोमा कसरी बस्नु हुन्छ है तपाईंहरू ! ’

लाइटर बाल्यो, उज्यालोको छिर्काले दुवैको अनुहार झिल्कियो । गेस्टको धुन क्यान्डलमा थियो । बिस्तारै क्यान्डल सल्कियो । अनि उसको आँखा जुध्यो, आफ्नै दिदीसँग ।

त्यतिबेलासम्म दिदीको आँखा आँसुले भरिइसकेको थियो । शरीर पूरै गलेर शिथिल भएकी थिइन् । उनले आफ्नो एक मात्र भाइ संयोगलाई लाइटरले छरेको उज्यालोको छिर्काले नै चिनिसकेकी थिइन् । उनी उठेर भाग्न चाहन्थिन् तर अशक्त महसुस भइरहेको थियो, शरीरका नसा गलेजस्तो, उनी भाग्नै सकिनन् ।

‘तँ यतिसम्म गिरेकी छस् भनेर मैले कल्पनासम्म पनि गरेको थिइनँ । म के देख्दै छु यो अहिले के यो साँचो हो ? तैँले छोरी भएर बाबुको गाउँमा चलेको नामको बदनाम गरिस् । कुलंगार्नी,’ भाइले गाली गर्न थाल्यो ।

भाइको गाली सुनिसकेपछि उनका नसा बिस्तारै दरिए । शरीरमा केही तागत मिलेको आभास भयो । उनी सलले मुख छोपेर रुँदै दौडिन् ।

भोलिपल्ट बिहान ६ बजेतिर वेटरले ढोका ढकढक्यायो ।

तर ढोका आफैँ खुल्यो । वेटरले पानी, कफी र एउटा खाम टेबलमा राखिदियो र निस्कियो । बिस्तारै संयोगका आँखा खुले । उसलाई आफू कहाँ छु भन्ने पनि हेक्का भइरहेको थिएन । रातभर पिएको हार्ड ड्रिंक्सले ऊ रन्थनिरहेको थियो ।

घडीले नौ बजाइसकेको थियो । ऊ अझै सिरकमा गुटमुटिएर सोचिरहेको थियो । कफी खाने याद पनि उसलाई भएन तर ट्रेमा राखिएको खामले उनलाई तान्यो र बिस्तारै खाम समात्यो । बलै लगाएर खाम खोल्यो । लेखिएको थियो-

‘भाइ, हुन त म तिमीलाई भाइ भनेर सम्बोधन गर्न लायक रहिनँ । तैपनि अन्तिम पटक सम्बोधन गर्दै छु । सक्छौ भने माफ गर । आज मलाई अतीतले बेस्सरी पोलेको छ । गाउँमा बाको ठूलो इज्जत थियो । आफ्नो नाक तीखो बनाउन उनी तिमीलाई इन्जिनियर बनाउन चाहन्थे ।

सामाजिक आडम्बरको पर्खाल नढलोस् भन्दै बाले खेतको गैरी पाटो बिक्री गरे र तिमीलाई प्राइभेट कलेजमा इन्जिनियरिङ अध्ययनका लागि भर्ना गरिदिए । जग्गा बिक्रीबाट आएको रकमले केवल कलेज खर्च मात्र पुग्ने भयो । तिम्रो अन्य खर्चका लागि बाले बीए पास गरेकी छोरीको नाताले मसँग आशा गर्नुभयो ।

उहाँले जागिर खुवाउने सर्तमा जिम्दारको ज्वाइँका साथ लगाएर मलाई सहर पठाउनु भयो । म पढे-लेखेकी छोरी भएको नाताले बाको चुच्चो नाकलाई अझ चुच्चो बनाउनु कर्तव्य ठानेँ ।

जिम्दारका ज्वाइँले मलाई महिनाको ३५ सयमा आफ्नै घरको घरेलु काम दिए । म आफ्नो उच्च शिक्षा पढ्ने रहरलाई निमोठेर मार्दै घरेलु कामदारमा भर्ती भएँ । यस समय न मैले आफ्नो मनको संरक्षण गर्न सकेँ, न त तनको नै ।

संसारको सबैभन्दा कोमल वस्तु भनेको मन नै रहेछ । मन ढुंगामा ठोस्सिँदा जस्तो नमीठो दुखाइ अरू केही हुँदैन रहेछ । मेरो कोमल मन र तनमाथि जिमदारका ज्वाइँको नजर पर्‍यो ।

मैले खुला आकाशमा खेल्न पाएको भए संसारका सबै गेम जित्न सक्थेँ सायद । तर, म उसले चपाउँदाचपाउँदा रस सिद्धिएको चुइगम बनेँ र तिम्रो आठौँ सेमेस्टर पूरा हुन नपाउँदै फालिएँ आफ्नै पहाड घरतिर ।

मेरो मुहारबाट रङहरू उडेर वायुमण्डलमा लुकिसकेका थिए । यो कुरा गाउँमा प्रायः सबैलाई थाहा थियो । यतिबेला तिम्रो पढाइ पनि पूरा हुन थालेको थियो भने म पनि परिवारमा घाँडो भएकी थिएँ । यी यावत् कुरा थाहा पाएर नै चारवटा सन्तानका बाबु, जसकी स्वास्नी मरेको एक वर्ष नपुग्दै मलाई माग्न आए ।

उनी झन्डै हाम्रा बाका उमेरका थिए । यो मेरा निम्ति अवसर थियो । मैले स्विकारेँ र विवाह गरेँ ।

तिम्रो परीक्षा परेकाले तिमी मेरो विवाहमा पनि आउन सकेनौँ । बुवाले केटाको बारेमा केही नभन्ने तर भाइलाई बोलाउने उर्दी जारी गर्नुभएको थियो । म पनि केही बोल्ने अवस्थामा थिइनँ ।

त्यस्तो जिन्दगीभन्दा यो जिन्दगी मलाई कैयौँ गुणा मन परेको थियो । विवाह गरेको ६ महिनामै उनी हर्टअट्याक भएर गए । सौताकै भए पनि बच्चा न हुन्, सानै थिए । उनीहरूलाई पढाउन र हुर्काउन मैले कमाउनुपथ्र्यो ।

खेती किसानी गर्ने बानी थिएन । त्यसैले ममाथि यति धेरै घटना घट्दा पनि तिमी सहरमै भएकाले होला थाहा पाएनौँ । वास्ता नगरेको म भन्दिनँ । आज बाल्यकालदेखिका घटना चलचित्रको रिलझैँ फनफनी घुमिरहेको छन् । भाइ, आजैदेखि मैले जिन्दगीको बाटो बदलेँ । तिम्रो पनि त्यस्तो घटना कहिल्यै नदोहोरियोस् ।’ – कथाः एक घृणास्पद संयोग sajhapage

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here